रुपन्देही–२ मा विष्णु पौडेलद्वारा भौतिक र मानवीय विकासका प्रतिबद्धता सार्वजनिक
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउँदै जिल्लालाई देशकै अग्रणी बनाउने प्रतिबद्धता सार्वजनिक गरेका छन्।
बुटवलमा आयोजित कार्यक्रममा उनले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना, बुटवल–पोखरा सडक स्तरोन्नति, अन्तर्राष्ट्रिय रंगशाला निर्माण, एकीकृत सहरी पूर्वाधार विकास, ग्रेटर लुम्बिनी परियोजना, कृषि थोक बजार केन्द्र, चुरे संरक्षण, हिल स्टेशन विकास लगायतका योजनाहरू समावेश गरिएको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरे।
शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, उद्योग–व्यापार, कृषि, पर्यटन, खेलकुद, विद्युत् र सञ्चारमा समग्र योजना प्रस्तुत गर्दै पौडेलले पहिले सुरु भएका परियोजना पूरा गर्ने र निर्माणाधीन आयोजनामा गति दिने प्राथमिकता लिएका छन्।
निर्वाचन परिचालन समितिका संयोजक भोजप्रसाद श्रेष्ठका अनुसार प्रतिबद्धता पत्रमा जनताको विश्वास जित्ने, कार्यान्वयन योग्य योजना मात्र समेटिएको छ। पार्टीले रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्र बनाउन संविधान, सामाजिक न्याय, समानता र सुशासनमार्फत विकास गर्ने लक्ष्य लिएको छ।