निर्वाचनको तयारी अन्तिम चरणमा
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको छ ।
पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिइने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागि सकेका छन् भने तराई-मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ ।
आयोगका तर्फबाट जिल्लामा सम्पादन हुने काममा सहजीकरण भइरहेको जनाउँदै उनले आज पनि अधिकांश जिल्लामा मतदान अधिकृतका लागि तालिम सञ्चालन भइरहेका बताए।
मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन सङ्घीय सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको पनि उनले बताए। निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको छ ।
यसैबीच, तीनवटै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक सामग्री पठाइएको छ । यही फागुन १८ गते बिहानदेखि ती सामग्री मतदान अधिकृतले बुझेर लैजानेछन् । मतदानमा खटिने कर्मचारी छनोट, मतदान अधिकृत र सहायक अधिकृतलाई अभिमुखीकरणको कार्यक्रम सम्पन्न भइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।
चितवनका ४९४ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी गरेर दुई हजार ९६४ जना कर्मचारी खटिने छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकाय परिचालित भएको जानकारी दिए ।