महामन्त्री थापाद्वारा सभापति देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन आग्रह
२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै निमन्त्रणा सन्देश पठाएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति देउवालाई उक्त सन्देश सुनाइदिन आग्रह गरेका हुन्। उनले विशेष महाधिवेशन सुरु हुने पुस २७ गतेको कार्यक्रममा सभापतिको उपस्थितिले पार्टीको गरिमा बढ्ने उल्लेख गरे।
बैठकमा थापाले सभापतिलाई पठाइएको सन्देश सुनाउँदै भने, “कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला—सभापति पुस २७ गते सहभागी हुनुपर्छ। उहाँको उपस्थितिले उहाँको पनि मान बढाउँछ। यहाँ बसेर फिर्ता लिउँ भन्नुभन्दा पनि यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ।”
महामन्त्री थापाको भनाइले विशेष महाधिवेशनलाई पार्टीकै औपचारिक प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको नेताहरूको टिप्पणी छ।