युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
काठमाडौं — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएपछि उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
२८ वर्षीय गुप्ता कात्तिक ९ गते युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए। सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा उनी सबैभन्दा कान्छा मन्त्रीका रूपमा समेटिएका थिए। सामाजिक अभियान्ताका रूपमा परिचित गुप्ता विभिन्न सामाजिक आन्दोलनको अगुवाइ गर्दै जेनजी आन्दोलनपछि गठन भएको सरकारमा मन्त्री बनेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनाव लड्ने तयारीमा रहेका गुप्ता हाल जनकपुर पुगेका छन्। राजीनामा दिएर पूर्ण रूपमा चुनावी तयारीमा जुटेको उनको भनाइ छ। सोमबार सार्वजनिक बिदा परेकाले उनको राजीनामा औपचारिक रूपमा स्वीकृत भने भइसकेको छैन।
सिराहा स्थायी घर भएका गुप्ताले मन्त्रीको हैसियतमा युवाको वृत्तिविकास तथा खेलकुद क्षेत्रको विकासका लागि केही महत्त्वपूर्ण कामहरू अघि बढाएका थिए।