ललितपुरमा ६ वटा जीवित कछुवासहित एक जना पक्राउ
संरक्षित वन्यजन्तु जीवित कछुवाको अवैध खरिद बिक्रीमा संलग्न रहेको आरोपमा ललितपुरमा एक युवक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवन भरतपुर महानगरपालिका-१६ घर भई हाल ललितपुरको धोबीघाट बस्ने १९ वर्षीय रोहिम तिवारीलाई आइतबार नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा खटिएको ब्यूरोको टोलीले धोबीघाट क्षेत्रमा खानतलासी गर्दा तिवारीको साथबाट ६ वटा जीवित कछुवा बरामद गरेको छ। अवैध रूपमा कछुवा ओसारपसार गरी खरिद बिक्री गर्नका लागि बोकी हिँडिरहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो।
पक्राउ परेका तिवारी र बरामद गरिएका कछुवाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी, ललितपुरमा बुझाइएको छ। नेपालको कानुनले कछुवालाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ र यसको ओसारपसार वा खरिद बिक्री गर्नु गैरकानुनी मानिन्छ।