प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा लामो एकान्त वार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार तीन घण्टाभन्दा लामो एकान्त वार्ता भएको छ। प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ओली बिहीबार बिहान ११ बजे बालुवाटार पुगेका थिए।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म दुई शीर्ष नेताबीच एक्ला एक्लै संवाद भएको हो। उनले बताएअनुसार वार्ता मुख्यतया आगामी फागुन २१ गते तय गरिएको निर्वाचनमा केन्द्रित थियो।
रावलका अनुसार उक्त वार्ताले निर्वाचन हुने–नहुने भन्ने विषयमा देखिएको आशंका र संशय कम गर्न मद्दत गरेको छ। “दुई नेताबीच तीन घण्टाभन्दा बढी समय गम्भीर संवाद भयो। संवाद फागुन २१ को निर्वाचनमै केन्द्रित थियो, जसले दुवै पक्षबीच विश्वासको वातावरण बनाउन सहयोग पुर्याएको छ,” रावलले बताए।
वार्ताका क्रममा एमाले अध्यक्ष ओलीले निर्वाचनमा एमालेले कुनै अवरोध नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। “ओलीले एमालेबाट निर्वाचनमा कुनै बाधा नहुने, ध्वंसात्मक गतिविधि नगर्ने र स्वस्थ प्रतिस्पर्धाका साथ निर्वाचनमा सहभागी हुने विश्वास प्रधानमन्त्रीलाई दिलाउनु भएको छ,” रावलले भने।
ओलीले निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे पनि चासो राखेका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले आवश्यक सबै व्यवस्था मिलाइसकेको बताउँदै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेकी थिइन्। एमालेले निर्वाचनमा सहभागी हुने निर्णय गरेकोप्रति प्रधानमन्त्रीले ओलीलाई धन्यवाद दिएकी छन्। साथै, ११ औँ महाधिवेशन सम्पन्न गरी पार्टी गतिविधि अघि बढाएकोमा पनि उनले ओलीप्रति खुसी व्यक्त गरेकी छन्।
रावलका अनुसार ओलीले सरकारले शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष निर्वाचनको वातावरण बनाएमा एमाले पूर्ण रूपमा निर्वाचनमा सहभागी हुने विश्वास पनि दिलाएका छन्। भेटका क्रममा ओलीले प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेको पनि जनाइएको छ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि सत्ताच्युत भएका ओली र भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीबीच लामो समय संवादहीन अवस्था थियो। प्रधानमन्त्री बनेको दुई महिनापछि विभिन्न दलसँग संवाद थालेकी कार्कीले एमाले अध्यक्ष ओलीसँग यसअघि शीतल निवास र बालुवाटारमा भेट गरिसकेकी छन्।
यद्यपि, प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एक्ला एक्लै भएको यो पहिलो लामो प्रत्यक्ष वार्ता हो।