नेपाल सौर्य विद्युत उत्पादक संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा भरतकुमार मल्ल
२४ पुस, काठमाडौं । सौर्य ऊर्जा व्यवसायीहरूको छाता संस्था नेपाल सौर्य विद्युत उत्पादक संघको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। संघको निर्वाचनमार्फत भरतकुमार मल्ल अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि मल्ल र हरिनारायण गौतमबीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ चयन भएका छन्। यसैगरी महासचिवमा नेत्रबहादुर खत्री, कोषाध्यक्षमा रामप्रसाद कोइराला र सचिवमा केशव राज शर्मा निर्वाचित भएका छन्।
संघको सदस्यहरूमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दीपक राज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार वस्नेत र सुवोध रिमाल रहेका छन्।
नेपालमा सौर्य ऊर्जाको विकास, प्रवर्द्धन र रूपान्तरणमार्फत दिगो तथा हरित विकासमा योगदान गर्दै आएको संघले यसै वर्ष आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) मनाएको छ। संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो।
संघको २५औँ वार्षिक साधारणसभा तथा निर्वाचनमार्फत आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको हो। सो अवसरमा संघले आफ्नो २५ वर्षे यात्राको समीक्षा गर्दै सौर्य ऊर्जा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको अनुभव र विचार समेटिएको ‘उज्यालो नेपाल’ स्मारिका पनि प्रकाशन गरेको छ।
संघले बदलिँदो समयअनुसार छाता संगठनको अवधारणामा आधारित सामूहिक कम्पनी स्थापना गरी सौर्य ऊर्जाका ठूला परियोजना सञ्चालन गर्ने तयारी अघि बढाउने जनाएको छ। साथै, आर्थिक वर्ष २०८२/८३ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कार्यान्वयन हुने कार्यक्रमहरू घट्दै गएको सन्दर्भमा संघको पहलमा सौर्य ऊर्जासम्बन्धी कार्यक्रमका लागि बजेट थप गराउन प्रयास गरिएको पनि जनाएको छ।
यस वर्ष मिनिग्रिड, सौर्य बत्ती, सौर्य पम्प, सौर्य खानेपानी, संस्थागत तथा रूफटप सोलार प्रणाली जडानलगायत कार्यक्रमका लागि आवश्यक बजेट निकासा र पूर्ण कार्यान्वयनमा जोड दिइने संघले जनाएको छ।
साथै, देशका दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तार, कृषि उत्पादन वृद्धि र डिजेल पम्प विस्थापनका लागि सौर्य सिँचाइ प्रवर्द्धनमा विशेष पहल गरिने संघको भनाइ छ। संघले नवीकरणीय ऊर्जाको २५ वर्षे अनुभवलाई उपयोग गर्दै सरकार, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य विस्तार गर्ने जनाएको छ।