कुलमान घिसिङले रास्वपा एकता भंगप्रति पीडा व्यक्त
काठमाडौँ, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका लागेको पीडा व्यक्त गरेका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले रास्वपाले उज्यालो नेपाललाई १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको र अन्ततः एकता भंग गरेको आरोप लगाए। उनले सहमतिको चरणमा आफूहरूको कुनै ठूलो माग नभएको र पदको बार्गेनिङ गरेको मिडियामा आएको समाचार गलत भएको स्पष्ट पारे।
“हामीले सहमतिको क्रममा उपाध्यक्ष भए पनि वरीयता तल भए पनि सहेर अगाडि बढ्यौं। यो विषय ठुलो पनि थिएन,” उनले भने। घिसिङले मुख्य विवादको कारण संविधानसँग सम्बन्धित समावेशी र संघीयताका विषयमा रास्वपाले सुरुमा सहमति जनाए पनि पछि पछि हटेको भएको बताए।
घिसिङका अनुसार चुनावी प्रक्रियामा निर्णय लिन र समानुपातिकतर्फ अघि बढ्न रास्वपाले १२ दिन लामो समय लिएको र यसले उज्यालो नेपाललाई धेरै क्षति पुर्याएको छ। उनले आफूले प्रधानमन्त्री वा पार्टी अध्यक्ष पद नचाहेको तर साधारण सदस्य भएर बस्न तयार रहेको उल्लेख गर्दा पनि रास्वपाले स्वीकार नगरेको बताए।
घिसिङले उज्यालो नेपालले अब आफ्नै बाटोमा अघि बढ्ने स्पष्ट पारेका छन्। “हामी अत्यन्तै लचक भएका थियौँ, अब उज्यालो नेपालले आफ्नो बाटो आफैं लिन्छ,” उनले भने।
घिसिङले रास्वपालाई आगामी काममा शुभकामना दिँदै उज्यालो नेपाल स्वतन्त्र र आफ्नो पहिचान कायम गर्दै अघि बढ्ने बताए।