एमालेले केन्द्रीय सदस्य मनोनयन चुनावपछि गर्ने
२४ पुस, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरूको मनोनयन आगामी निर्वाचन सम्पन्न भएपछि मात्र गर्ने निर्णय गरेको छ।
पार्टीले बिहीबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठनलगायत समग्र कार्यविभाजन निर्वाचनपछि गर्ने निर्णय भएको जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, “मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्य विभाजन निर्वाचन सम्पन्न भएपछि गरिने निर्णय भएको छ।”
गत मंसिर अन्तिम साता सम्पन्न पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ। पार्टी विधानअनुसार केन्द्रीय समितिको १० प्रतिशत सदस्य मनोनयन गर्न सकिने वैधानिक व्यवस्था रहेको छ।
एमालेले आगामी निर्वाचनलाई प्राथमिकतामा राख्दै संगठनात्मक संरचना विस्तारको प्रक्रिया पछि अघि बढाउने संकेत गरेको छ।