श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ
काठमाडौं, १ पुस — धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनलाई काठमाडौंको कपन क्षेत्रबाट पक्राउ गरी पाँचथर पठाइएको हो। सीआईबीका एआईजी मनोज केसीले अनलाइनखबरलाई जानकारी दिँदै लामालाई मंगलबार पक्राउ गरिएको बताए।
लामा (कुमार, विश्वक्रान्ति, देवराज लामा नामले पनि चिनिने) विरुद्ध २०८१ भदौ १४ गते भएको बम विस्फोट घटनामा मुद्दा दायर भएको थियो। उक्त विस्फोटमा एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।
विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका लामाको खोजीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।