आज किराँत समुदायको उँधौली पर्व मनाउँदै
आज मार्गशीर्ष शुक्ल पूर्णिमामा किराँत समुदायले पितृ सम्मान र प्रकृतिपूजासँग सम्बन्धित उँधौली पर्व मनाउँदैछन्। याक्खा, सुनुवार, राई र लिम्बू समुदायले आफ्ना भाषाअनुसार चासुवा, फोलस्यादर, उँधौली सकेला र चासोक तङ्नाम नामले यो पर्व मनाउँछन्। लिम्बूहरूले तीन दिनअघि बाटै चासोक तङ्नाम सुरु गरिसकेका छन्।
अनुसन्धाता कीर्तिकुमार दुमी राईका अनुसार नाम फरक भए पनि यो समष्टिगत रूपमा उँधौली पर्व हो। पाकेका अन्नबाली इष्टदेवता र पितृलाई अर्पण गर्ने दिनका रूपमा यसलाई मानिन्छ। खेती सुरु गर्ने बेलामा उँभौली (यावा) पर्व मनाइन्छ भने आजको उँधौलीलाई जाडोमा लेकबाट भेँडाबारी झर्ने प्राकृतिक चक्रसँग पनि जोडिन्छ।
सानो हात्तीवन (ललितपुर) लगायत स्थानमा किराँतहरू च्याब्रुङ बाजासहित धाननाच, चण्डीनाच आदि नाचगान गर्दै पूजा गर्छन्। लिम्बूहरूले युमासामाङ–थेवासामाङ र अरू किराँतहरूले तागेरा निङ्वाफुमाङलाई इष्टदेवता मान्छन्। यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।