शारदा–५ तल्लो मार्केको श्री जनकल्याण प्राविमा छात्राबासमा न्यानो कपडा वितरण, लोपोन्मुख विद्यालयको पुनर्जागरण!
सल्यान जिल्लाको शारदा नगरपालिका- ५, तल्लो मार्केस्थित श्री जनकल्याण प्राथमिक विद्यालयको छात्रावासमा आज एक विशेष कार्यक्रमका बीच विद्यार्थीहरूलाई सहयोगस्वरुप न्यानो कपडा वितरण गरिएको छ। चितवन निवासी समाजसेवी शेरबहादुर परियारको सहयोगमा करिब ३५ थान ट्र्याकसुट छात्रावासी विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो।
पुनर्जागरणको कथा: ५ विद्यार्थीबाट ९५ सम्मको यात्रा
२०४६ चैत्र २६ गते स्थापना भएको यो विद्यालय केही वर्षअघि विद्यार्थी संख्या अत्यन्तै घटेर २०८० साउनमा ५ जना मात्र हुँदा नगरपालिकाभित्र 'मर्ज हुने पहिलो विद्यालय' को सूचीमा परेको थियो। तर, शिक्षक कृष्णबहादुर ओली सरुवा भयर त्यस स्कुलमा आएपछि स्कुलले एकाएक मुहार फेर्दै निजी विद्यालयमा गएका विद्यार्थीहरूलाई फर्काउँदै संख्या बढाउने अभियान सुरु भयो। शिक्षक ओली र स्थानियको अथक प्रयासबाट विद्यालयले मर्ज हुनबाट जोगिँदै विद्यार्थी संख्या ४१ पुर्यायो र पछि सोही वर्ष ६१ पुगेर विद्यालय पुन: सक्रिय बन्दै गयो।
असहाय बालबालिकाको सहारा: निःशुल्क छात्रावास
विद्यालयको यो पुनर्जागरणलाई थप टेवा पुर्याउन शारदा नगरपालिकाका शैक्षिक पहुँच नपुगेका तथा बेबारिसे अबस्थामा रहेका असहाय बालबालिकालाई लक्षित गरी २०८२ जेठ ७ गतेदेखि छात्रावास सञ्चालन गरियो। हाल यस छात्रावासमा ३१ जना अभिभावकविहीन, असहाय तथा बेवारिसे बालबालिकालाई निःशुल्क खाने, बस्ने, लाउने र पढ्ने सुविधा प्रदान गरिएको छ।
यससँगै विद्यालयको कुल विद्यार्थी संख्या अहिले ९५ जना पुगेको छ।
छात्रावासमा रहेका बालबालिकाहरू:
आमाबाबु दुवै नभएका: ३ जना
आमा मात्रै भएका: ५ जना
आमा- बुबाको सम्बन्ध बिच्छेद भैइ हेरचाह नपाएका: ४ जना
विदेशिएका अभिभावकका कारण बेवारिसे/नहेरेका: ११ जना
समुदायको अतुलनीय सहयोग
छात्रावास तथा विद्यालय सञ्चालनमा स्थानीय समुदायको योगदान उल्लेखनीय रहेको छ:
शारदा नगरपालिका वडा न. ५ का कालीबहादुर बुढाथोकी र पिनकली बुढाथोकीले छात्रावासका बालबालिकाले तरकारी तथा अन्नबाली उत्पादन गर्न सक्ने गरी चार - चार रोपनी जमिन निःशुल्क दान गर्नुभएको छ।
गंगाराम रोका: २०८२ जेठदेखि आफ्नो घर पूर्ण रूपमा निःशुल्क छात्रावासका लागि उपलब्ध गराउँदै विद्युत्, पानी र अन्य खर्च समेत स्वयं व्यहोर्दै आउनुभएको छ। हाल छात्रावासमा ३ जना भोलिन्टियर विद्यार्थी र १ जना सहयोगीले बालबालिकाको दैनिकी, सरसफाइ तथा अनुशासन व्यवस्थापनमा सहयोग गरिरहेका छन्।
शैक्षिक तथा व्यवस्थापकीय पक्ष
विद्यालयमा हाल ८ जना शिक्षक शिक्षिका रहेका छन्। यसमध्ये ५ जना स्थायी दरबन्दी, १ जना वडा कार्यालयको अनुदानबाट, र २ जना विद्यालयको आन्तरिक स्रोतबाट नियुक्त भएका छन्।
नगरप्रमुखको गुनासो र शिक्षकको प्रेरणा
आजको ट्र्याकसुट वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर बुढाथोकीको अध्यक्षता र शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले प्रदेश सरकारप्रति गुनासो व्यक्त गरे। उनले असाहाय विद्यार्थी र कलिला बालबालिकाका लागि छात्रावास भवन निर्माण र खाना बस्नको व्यवस्थाका लागि कार्यपालिकाको बैठकबाट एकल निर्णय गरी प्रदेश सरकारसँग हारगुहारका साथ सहयोग माग्दा पनि १ रुपैयाँ सहयोग प्राप्त नभएको बताए।
यस सन्दर्भमा, विद्यालयलाई लोप हुनबाट बचाएर असहाय बालबालिका पढ्ने स्कुल र छात्रावाससम्म सञ्चालन गर्न सफल भएका शिक्षक कृष्णबहादुर ओलीले आफ्नो अनुभव सुनाए। उनले भने, "मर्ज हुन लागेको विद्यालयलाई आज मर्ज हुनबाट जोगाएर मात्र हैन, असहाय बालबालिका पढ्ने स्कुल बनाएर छात्रावाससम्म बनाएर सञ्चालन गर्दा 'साँच्चिकै गरे के हुँदैन' भन्ने लागेको छ र यस कार्यबाट थप प्रेरणा प्राप्त भएको छ।"
मेयर भण्डारीले शारदा नगरपालिकाले विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि आवश्यक स्रोत खोजी गरी असहाय बालबालिकाको शैक्षिक यात्रालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नगरपालिकाको यो सफल मोडेल देखेर अन्य पालिकाहरूले समेत असहाय बालबालिका पठाएर छात्रावासमा बसाल्न चाहना व्यक्त गर्दै आएको बताए।
भविष्यको योजना: आत्मनिर्भरतातिर विद्यालयले आगामी दिनमा छात्रावासी बालबालिकाको आत्मनिर्भरता बढाउने उद्देश्यले महत्त्वपूर्ण योजना अघि सारेको छ। यसअन्तर्गत तरकारी खेती तथा कृषि उत्पादनमार्फत आफ्नो दैनिकीमा प्रयोग हुने खाद्य सामग्री स्वयं उत्पादन गर्ने लक्ष्य राखिएको छ। शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीको निरन्तर सहयोग र विशेषगरी शिक्षक कृष्णबहादुर ओली र स्थानियहरुले मर्ज हुन लागेको विद्यालयलाई असहाय बालबालिकाको आश्रयस्थल र गुणस्तरीय शिक्षाको केन्द्र बनाउन गरेको काम साँच्चिकै प्रशंसनीय रहेको कार्यक्रममा सहभागीहरूले बताए। नगरपालिकाको यो सफल मोडेल देखेर अन्य पालिकाहरूले समेत आफ्ना असहाय विद्यार्थी ल्याएर यस छात्रावासमा बसाल्न चाहना व्यक्त गर्दै आएको नगरप्रमुखले जानकारी दिए। यसले श्री जनकल्याण प्रावि केवल एउटा विद्यालय नभई समुदाय, शिक्षक र नगरपालिकाको समन्वयात्मक प्रयासबाट सम्भव भएको शैक्षिक क्रान्तिको एक सफल उदाहरण बनेको देखाउँछ।