हेटौँडा २५ मिटर सडक विस्तारविरुद्धको रिटको सुनुवाइ स्थगित
हेटौँडा । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध दायर गरिएको रिट निवेदन आज (बुधवार) सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राख्दै सुनुवाइ रोकिएको हो।
रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकारले दायर गरेको रिटमा डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको थियो।
निवेदकहरूले सडक विस्तारको क्रममा व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपुर्याई संरचना हटाउने प्रयास भएको भन्दै मङ्सिर १६ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए। यसअघि मङ्सिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले तत्काल संरचना नहटाउन ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो भने मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश दिएको थियो।