क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने
नलिञ्चोक हेलिप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् ।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । आज समय अभावका कारण इजलासकै आदेश अनुसार उनीहरूलाई हिरासतमा राखिने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
उनका अनुसार, अब शुक्रबार मात्रै उनीहरूको बयान र थुनछेक बहस हुनेछ । ‘आज ढिलोगरी अभियोगपत्र दायर भएको हुनाले उहाँहरूको बयान तथा थुनछेक गर्ने कार्य समय अभावले नभ्याइने हुँदा पर्सि शुक्रबारमात्रै हुनेछ,’ उनले भने ।
उनका अनुसार महानिर्देशक अधिकारी र निर्देशक भण्डारीलाई बुधबार आरोपपत्रसहित अदालत उपस्थित गराइएको थियो । अख्तियारले उनीहरू दुई जनासहित अन्य पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा दायर गरेको छ ।