शेखर कोइरालाद्वारा देउवासँग भेट, विना नम्बरका क्रियाशील फारम फिर्ता गर्न आग्रह
काठमाडौं, १ पुसनेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित सभापति देउवासँग भेट गर्न पार्टी केन्द्रीय कार्यालय पुगेका हुन्।
भेटमा क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएका फारम जिल्ला–जिल्ला पठाएको विषय र केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको कारबाही फुकुवा गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ।
नेता कोइरालाले विना नम्बरका फारम वितरण हुँदा पार्टीभित्र देशव्यापी जटिल समस्या सिर्जना भएको भन्दै ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन सभापति देउवालाई निर्देशन दिन आग्रह गरेका छन्। विना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने तर्क उनले राखेका थिए।
त्यस्तै, अनुशासन कारबाहीका विषयमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबै कारबाही फुकुवा गरी पार्टीलाई महाधिवेशन र आगामी आम निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुपर्ने धारणा व्यक्त गरे।
२०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भएका छलफललाई आधार बनाएर अहिले कारबाही गर्नु उपयुक्त नहुने कोइरालाको भनाइ थियो।