आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाउँदै
आज मार्गशीर्ष शुक्ल पूर्णिमामा नयाँ भित्रिएको धानको पूजा गर्दै धान्यपूर्णिमा मनाइँदैछ। धान, गणेश, कुलदेवता, गोठदेवतादेखि महालक्ष्मीसमेतको पूजा गरी धान कुटेर चामल बनाउने र त्यसबाट सेल, पुरी, मालपुवा चढाउने परम्परा छ। आजै नवान्नप्राशन गर्नुपर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। काभ्रे, भक्तपुर, काठमाडौँ, नुवाकोटलगायत ठाउँमा मेला लाग्छ।
यसैगरी नयाँ धानको खुसीमा नेवार समुदायले आज योमरी पूर्णिमा उत्साहपूर्वक मनाइरहेका छन्। चामलको पीठो, चाकु, तिल र खुवाबाट बनाइने योमरीलाई स्वादिष्ट खाद्यपर्व मानिन्छ। घर–घरमा लिपपोत गरी बिहानैदेखि योमरी पकाइन्छ। यो पर्वलाई नवअन्नप्राशनको रूपमा पनि लिने गरिन्छ। भकारीको पूजा तथा चेलीबेटीलाई तिल–चाकु भरिएको योमरी सगुन पठाउने परम्परा समेत रहेको छ।