मुग्लिन–पोखरा खण्डमा पृथ्वी राजमार्गकै लामो आर्क डिजाइनको मादी पुल निर्माण तीव्र
मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको मादी पुल निर्माण तीव्र गतिमा भइरहेको छ। पुलमा दैनिक १३० जना कामदार परिचालित छन्।
व्यापारी र यातायातका साथै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनमा निर्माण भइरहेको उक्त चार लेनको पुल ३१५ मिटर लामो छ र हाल ७४ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ। सम्झौताअनुसार समयमै काम पूरा नभएपछि ११ महिना म्याद थप गरिएको थियो।
पुलमा ढलान गर्नुअघि फर्मा लगाउने, डण्डी तान्ने र टेका लगाउने काम भइरहेको छ। पुलमा छ वटा स्पान हुनेछ। निर्माण कम्पनीले विसं २०७९ साउन २६ गते रु १ अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो र तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण भइसकेका छन् भने ४१.४५ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ।