एमाले महाधिवेशनमा नेफ्स्कुनका अधिकांश पदाधिकारी सक्रिय
काठमाडौं, १ पुस — सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) का सञ्चालक समितिका अधिकांश सदस्य नेकपा एमालेको ११औँ महाधिवेशनमा सक्रिय रूपमा सहभागी रहेको पाइएको छ।
नेफ्स्कुनका वरिष्ठ उपाध्यक्षदेखि सञ्चालक सदस्यसम्मले पार्टीगत राजनीतिक सक्रियता खुल्ने गरी महाधिवेशनमा खटिएको देखिएको हो। नेकपा एमालेको ११औँ महाधिवेशन २८ मंसिरदेखि काठमाडौंमा जारी छ, जहाँ पार्टीको नयाँ नेतृत्व चयन हुँदैछ। यही महाधिवेशनमा नेफ्स्कुनका पदाधिकारीहरू आ–आफ्ना नेताको पक्षमा चुनावी अभियानमा सक्रिय भएका हुन्।
मंगलबार भृकुटीमण्डपमा जारी महाधिवेशनस्थलमा आफ्ना नेताका पक्षमा भोट माग्दै गरेको अवस्थामा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी र महासचिव घनश्याम अधिकारी देखिएका छन्।
त्यस्तै, नेफ्स्कुनका सदस्य मन्दिरा मिश्र र हेमराज विष्ट, तथा किसान कल्याण सहकारीका अध्यक्ष शालिकराम ढकाल पनि पार्टी राजनीतिमा सक्रिय देखिएका छन्। मधेश प्रदेशबाट नेफ्स्कुन सञ्चालक समिति सदस्य शोभाकुमारी राउत, कोशी प्रदेशबाट सञ्चालक लक्ष्मी सापकोटा, लेखा समिति सदस्य दुर्गा तिवारी सन्जेल तथा गण्डकी प्रदेशबाट सञ्चालक गोपाल गौतम पनि महाधिवेशनको प्रचार–प्रसारमा संलग्न रहेका छन्।
यसैबीच, नेफ्स्कुन तथा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष मिनराज कँडेलले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश पोख्रेल र सञ्चालक विजया धितालले केन्द्रीय लेखा आयोग सदस्यमा उम्मेदवारी दिएका छन्।
सहकारी क्षेत्रमा पार्टीगत राजनीतिका कारण समस्या जटिल बन्दै गएको गुनासो पीडितहरूले गर्दै आएका छन्। एमाले महाधिवेशनमा नेफ्स्कुनका अधिकांश बोर्ड सदस्यको सक्रिय सहभागिताले सहकारी र दलगत राजनीतिबीचको निकट सम्बन्धलाई थप उजागर गरेको टिप्पणीसमेत हुन थालेको छ।