एडीबीले नेपाललाई १० करोड डलर बराबर सहुलियतपूर्ण ऋण दिने
काठमाडौं, २ पुस — एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई १० करोड अमेरिकी डलर (करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता भएको छ।
अर्थ मन्त्रालयमा आज सम्पन्न कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबी नेपालका निर्देशक आनो कुश्वाले सम्झौतामा हस्ताक्षर गरे। यो ऋण सार्वजनिक वित्त व्यवस्थापनलाई सबलीकरण गर्ने उद्देश्यले दिइएको हो।
ऋणको भुक्तानी अवधि २४ वर्ष र ग्रेस अवधि ८ वर्ष हुनेछ। ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत लागू हुनेछ।
सहसचिव डा. धनीराम शर्माले कार्यक्रमले नेपालको खर्च, वित्तीय व्यवस्थापन र स्थानीय सरकारको क्षमता सुधारमा योगदान पुग्ने बताए। एडीबी र अर्थ मन्त्रालयले सहकार्य निरन्तर र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।