नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध दायर रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको हो।
अघिल्लो संघीय संसदबाट पारित भए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरेपछि थन्किएको विधेयकलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विवाद उत्पन्न भएको थियो। सोही कदमलाई गैरसंवैधानिक दाबी गर्दै २०८० जेठ १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो।
रिटमा विधेयक प्रमाणीकरणका क्रममा संविधानका असम्बन्धित प्रावधान उद्धृत गरिएको दाबी गर्दै उक्त विधेयक कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ।