एनआरएनएको १२औँ महाधिवेशन फागुनमा आयोजना हुने, क्षेत्रीय अन्तरक्रिया पनि तय
काठमाडौं, २९ मंसिर — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुनमा हुने भएको छ। बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि २५ सम्म आयोजना गर्ने निर्णय स्टेरिङ कमिटीले गरेको छ। महासचिव गौरीराज जोशी र बीआर लामाले महाधिवेशनको मिति तय भएको जानकारी विज्ञप्ति मार्फत दिएका हुन्।
महाधिवेशन तयारीको सिलसिलामा एकता पश्चात् गठित स्टेरिङ कमिटीले राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरण समिति गठन गरेको छ। गंगाधर गौतम संयोजक रहेको उक्त समितिमा सहसंयोजक टीका गुरुङ (राधिका) रहेका छन् भने सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहेका छन्।
बैठकले क्षेत्रीय अन्तरक्रिया र संवाद गर्ने कार्यक्रम पनि तय गरेको छ। डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया–प्रशान्त र ओसिनिया क्षेत्र तथा डिसेम्बर २१ मा अमेरिका र युरोप क्षेत्रसँग अन्तक्रिया गर्ने निर्णय भएको छ।
साथै, पाँच सदस्यीय सदस्यता समितिमा दुई जना थप गरी सात सदस्य बनाउने निर्णय पनि भएको छ। स्टेरिङ कमिटीका सबै सदस्यले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था अनुसार आगामी बैठकअघि हस्ताक्षर गर्नु अनिवार्य हुने जनाइएको छ। हस्ताक्षर नगर्ने सदस्यले आगामी बैठकमा सहभागिता जनाउन पाउने छैनन्।