मंसिरमा घरजग्गा कारोबार झण्डै दोब्बर, राजस्वमा उल्लेख्य वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिकको तुलनामा मंसिर महिनामा नेपालमा घरजग्गा कारोबार झण्डै दोब्बरले बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार मंसिरमा देशभरका मालपोत कार्यालयबाट ५१ हजार ६३२ वटा लिखत पारित भएका छन्, जुन कात्तिकको तुलनामा २३ हजार २४९ ले बढी हो।
मंसिर महिनामा सरकारले घरजग्गा कारोबारमार्फत १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन गरेको छ। साथै, सोही अवधिमा घरजग्गा क्षेत्रबाट कुल ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व आम्दानी भएको विभागले जनाएको छ।
कात्तिक महिनामा २८ हजार ३८३ वटा लिखत पारित भएका थिए। उक्त महिनामा पुँजीगत लाभकरबापत ९९ करोड ७८ लाख रुपैयाँ र कुल राजस्व २ अर्ब ७४ करोड रुपैयाँ सङ्कलन भएको थियो।
चालु आवमा साउनदेखि असोजसम्म घरजग्गा कारोबारबाट पुँजीगत लाभकर र कुल राजस्व दुवैमा क्रमशः वृद्धि देखिएको विभागको तथ्यांकले देखाएको छ।