काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट करिब ५७ लाख रुपैयाँ बराबरको चोरी
काठमाडौँ।काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्र काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका तथा ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सुनका गरगहना, नगद तथा अन्य सामग्रीसमेत गरी करिब ५७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईँको कोठाबाट २ लाख ९१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। त्यस्तै, तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट ३ लाख ७७ हजार रुपैयाँ र काठमाडौँ महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र एक थान ल्यापटपसहित करिब ७ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट ४ लाख ४ हजार रुपैयाँ र कृष्ण मन्दिर चोक नजिक बाबुराम पाण्डेको कोठाबाट ३९ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।