नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको संख्या बढी
काठमाडौं । पछिल्लो समय नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या बढेको छ । गत साउनयता ४० जनाले नेपाली नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष रहेका छन् । गैरआवासीय नागरिकता लिन नेपाल आउँदा उनीहरूले नेपाली नागरिकता परित्याग गर्ने गरेका छन् ।
जिल्लामा साउनयता २० महिला र २९ पुरुषले गैरआवासीय नागरिकता लिएका छन् । गैरआवासीय नागरिकताका लागि कार्यालयले जारी गरेको अनुसूची फाराम भरेर पासपोर्टको फोटोकपी, विदेशी नागरिकताको फोटोकपी, नागरिकता त्यागेको निस्सा तथा नातेदार वा चिनजानको व्यक्तिबाट सनाखत गराउनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।
विदेशमा बसोबास गर्ने नेपालीहरूले नेपालमा लगानी गर्न सहज होस् भन्ने उद्देश्यले गैरआवासीय नागरिकता लिने गरेको शर्माले बताए ।
यसै अवधिमा जिल्लामा दोहोरो नागरिकता लिएका वा राज्यविरोधी गतिविधिमा संलग्न दुई जनाको नागरिकता रद्द गरिएको छ । साथै, साउनयता वंशजका आधारमा तीन हजार ७५९ जनाले र वैवाहिक अंगीकृत नागरिकता ११ जनाले प्राप्त गरेका छन् ।