गृहमन्त्री अर्यालले दिवंगत प्रहरी गुरुङको परिवारसँग भेट
काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी प्रदर्शनका क्रममा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेका छन्।
गृहमन्त्री अर्याल आइतबार कास्कीको रुपा गाउँपालिका–५ पुगेर गत भदौ २४ गते कोटेश्वरमा भएको जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका सहायक हवल्दार गुरुङका परिवारजनसँग भेटघाट गरेको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।
भेटका क्रममा गृहमन्त्री अर्यालले दिवंगत गुरुङप्रति गहिरो शोक व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरे। उनले राज्यका तर्फबाट गुरुङको परिवारलाई सक्दो सबै प्रकारको सहयोग उपलब्ध गराइने र परिवारका सदस्यका लागि रोजगारीको उपयुक्त प्रबन्धसमेत गरिने आश्वासन दिए।
राज्यले गुरुङको परिवारलाई सबै हिसाबले भरिपूरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री अर्यालले दुःखको यस घडीमा सरकार परिवारसँगै रहेको बताए।
भेटका अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका उच्च अधिकारीहरू समेत उपस्थित थिए।