८ दिनपछि अरनिको राजमार्ग सञ्चालन ६० दिनभित्र काम नथालिए पुनः अवरोध गर्ने चेतावनी
२८ मंसिर, काभ्रेपलाञ्चोक । स्थानीयवासीको अवरोधका कारण आठ दिनदेखि बन्द रहेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि सञ्चालनमा आएको छ।
कोदारीस्थित ‘इको पहिरो’ क्षेत्रमा बाढी तथा पहिरोका कारण बस्ती जोखिममा परेको भन्दै स्थानीयले यही मंसिर २० गतेदेखि राजमार्ग अवरुद्ध गरेका थिए। राजमार्ग बन्द हुँदा कोदारी नाका समेत आठ दिनसम्म ठप्प बनेको थियो।
गत असोज २ गते स्थानीयवासी, सडक विभाग तथा सडक डिभिजन कार्यालय चरिकोटको उपस्थितिमा कात्तिक महिनामै राजमार्ग निर्माण र पहिरो नियन्त्रणका लागि टेन्डर निकाल्ने सहमति भएको थियो। तर एक महिनासम्म पनि प्रक्रिया अघि नबढेपछि स्थानीयले सडक अवरोध गरेका थिए।
शुक्रबार दिउँसो स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबीच भएको वार्ता असफल भएपछि कार्यालयले ४८ करोड ४९ लाख रुपैयाँ लागतको टेन्डर आह्वान गरेको छ। टेन्डर प्रक्रियाका लागि ३५ दिन समय लाग्ने र त्यसपछि मात्र निर्माण कार्य सुरु हुने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ।
राजमार्ग निर्माण, इको पहिरो नियन्त्रण तथा बस्ती संरक्षणका लागि टेन्डर आह्वानको सूचना प्रकाशित भएपछि शनिबार स्थानीय पालिका, स्थानीयवासी तथा विभिन्न ट्रान्सपोर्ट व्यवसायीका प्रतिनिधिसँग छलफल भएको थियो। त्यसपछि स्थानीय स्वयंले राजमार्ग खुलाएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगत राईले जानकारी दिए।
तर स्थानीयले अबको ६० दिनभित्र सडक निर्माण कार्य सुरु नगरे पुनः इको पहिरो क्षेत्रमा सडक अवरुद्ध गर्ने निर्णय गरेका छन्।
सडक सञ्चालनमा आएसँगै सीमा क्षेत्रमा रोकिएका कन्टेनर तथा विद्युतीय सवारीसाधन (ईभी) हरू भन्सार यार्डतर्फ जान थालेका छन्। सडक बन्द हुँदा फलफूललगायतका सामग्री कुहिएर ठूलो क्षति भएको व्यवसायीहरूले बताएका छन्।
यसअघि स्थानीयले ‘वार्षिक करिब २० अर्ब रुपैयाँ राजस्व संकलन हुने नाकालाई किन बेवास्ता गरियो? दशकौँसम्म पहिरो नियन्त्रण किन भएन? हाम्रो बाँच्न पाउने अधिकार कहाँ छ? सरकार कहाँ छ?’ जस्ता मागसहित तत्काल समाधानको काम सुरु गर्न आग्रह गर्दै राजमार्ग बन्द गरेका थिए।
स्थानीयका अनुसार पहिरोका कारण माथिल्लो भेगका बस्तीहरू उच्च जोखिममा छन् र कुनै पनि बेला ठूलो विपद् निम्तिन सक्ने खतरा बढेको छ। गुम्बाडाँडा, मिलन बजार, लालबिर चोक, चौकीडाँडा, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार तथा तामाङ गुम्बा गाउँ पहिरोको उच्च जोखिममा रहेका क्षेत्र हुन्।