आगलागीबाट एक महिनामा ८ जनाको मृत्यु
काठमाडौँ, १२ मंसिर – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटनालाई रोक्न आवश्यक पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभसम्बन्धी कार्यमा तीनै तहका सरकारसँग समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ।
प्राधिकरणले जारी गरेको सूचनामा राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतसँग पनि आवश्यक पहल र सहयोग गर्न आग्रह गरेको छ। प्रवक्ता शान्ति महतका अनुसार, “प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कता अपनाएर नागरिक सुरक्षामा योगदान पुर्याउनु हुन अनुरोध गर्दछ।”
पछिल्लो एक महिनामा देशका विभिन्न भू-भागमा आगलागीका घटनामा ८ जनाको ज्यान गएको र ५५ जना घाइते भएका छन्। सुक्खायाम र बढ्दो चिसोका कारण आगलागीका घटनामा वृद्धिदेखि प्राधिकरण चिन्तित छ।
प्राधिकरणले आगलागीजन्य विपद् न्यूनीकरणका लागि बहुपक्षीय सहकार्य, समन्वय र सहभागिताको महत्व उल्लेख गर्दै, सचेतनामूलक श्रव्यदृश्य सामग्री लक्षित वर्ग, क्षेत्र र समुदायमा पुर्याउन सबैसँग आग्रह गरेको छ।