बाह्रबिसेमा अवैध चाइनिज सामानसहित मिनी टिपर नियन्त्रणमा
१ पुस, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसे बजार क्षेत्रमा बिल, बिजक र भन्सार प्रज्ञापन पत्रविनै ल्याइँदै गरेको चाइनिज किराना सामानसहित एक मिनी टिपर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार राति करिब १२ बजे तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा४ख ५८६४ नम्बरको आइचर मिनी टिपर चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १६ नं. हे.क्वा बन्देउका प्रहरी उपरीक्षक अच्युतकुमार मजगैयाँले जानकारी दिए ।
गाडीभित्र अन्दाजी ७ लाख २२ हजार १० रुपैयाँ बराबरका विभिन्न चाइनिज किराना सामान फेला परेको र आवश्यक भन्सार कागजात नदेखिएको उनले बताए । सवारी चालक बाह्रबिसे नगरपालिका–६, मान्द्राका शिवलाल तामाङलाई गाडी र सामानसहित नियन्त्रणमा लिइएको छ ।
अन्दाजी १५ लाख रुपैयाँ मूल्यको गाडी र सामानसमेत गरी कुल २२ लाख २२ हजार रुपैयाँ बराबरको सम्पत्ति बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गाडी, सामान र चालकलाई आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ ।
सीमावर्ती नाकाबाट अवैध सामानको ओसारपसार रोक्न निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।