पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं, १ पुस।नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलनका क्रममा पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको रिपोर्टिङ गरिरहेका बेला पत्रकार चन्दमाथि अमर्यादित व्यवहार भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “पत्रकारमाथि भएको अमर्यादित व्यवहारप्रति नेपाल पत्रकार महासंघ निन्दा र भर्त्सना गर्दछ। यस घटनामा संलग्न व्यक्तिलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले विशेष कदम चाल्नुपर्छ।”
मंसिर २७ गते शनिबार सुदूरपश्चिम महोत्सवको समाचार संकलनका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दलाई दुई जना अपरिचित युवाले गलत नियतले पछाडिबाट धकेलेको बताइएको छ।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले पनि आपत्ति जनाउँदै संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरेको छ। शाखाका अनुसार घटनामा संलग्न युवाहरूको हर्कत भिडियोमा स्पष्ट देखिएको छ र यसबारे महासंघको केन्द्रीय समितिलाई जानकारी गराइसकिएको छ।