नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि भएको दुर्व्यवहारको घटनाप्रति विभिन्न प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संघ–संगठनहरूले कडा निन्दा गरेका छन्। उनीहरूले छुट्टाछुट्टै तथा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्नुका साथै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा विश्वविद्यालय इञ्चार्ज सुधिर शर्मा पोख्रेलले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाले शैक्षिक क्षेत्रको सुरक्षा र गरिमामाथि गम्भीर असर परेको उल्लेख गरिएको छ। उनले दोषी पहिचान गरी तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।
यस्तै नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष गणेश वली र केन्द्रीय कार्यालय इकाई समिति सचिव गंगा ढकालले पनि अलग–अलग विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ इकाईका सभापति पुरुषोत्तम आचार्यले जारी गरेको विज्ञप्तिमा शैक्षिक संस्थाभित्र हुने यस्ता गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै दोषीमाथि कडा कदम चाल्न आग्रह गरिएको छ।
विद्यार्थी संगठनतर्फबाट नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेल, अनेरास्ववियूका सचिव सविन पोख्रेल, अखिल क्रान्तिकारीका अध्यक्ष गोविन्दकुमार मल्ल र राप्रविसंघका अध्यक्ष मुस्कान पोख्रेलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
आइतबार बिहान नेकपा बहुमत निकट अनेरास्ववियू (क्रान्तिकारी) का कार्यकर्ताहरूले बेलझुण्डीस्थित विश्वविद्यालय परिसरभित्र रहेको निवासमा पुगेर उपकुलपति नेपालमाथि दुर्व्यवहार गरेका थिए। तीनवटा मोटरसाइकलमा आएका छ जनाको समूहले विश्वविद्यालयका उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि पनि कुटपिट गरेको बताइएको छ।
दुर्व्यवहारका क्रममा उनीहरूले ‘नेकपा बहुमत जिन्दावाद’ र ‘अखिल क्रान्तिकारी जिन्दावाद’ भन्ने नारा लगाएको जनाइएको छ। अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले घटनाको जिम्मेवारी लिँदै प्रेस विज्ञप्ति जारी गरेको छ। संगठनका लुम्बिनी प्रदेश इञ्चार्ज प्रेमप्रशान्त बाहोराद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचार तथा अनियमिततासम्बन्धी आठ बुँदे आरोप लगाउँदै कारबाहीको जिम्मेवारी लिएको उल्लेख छ।
घटनापछि संलग्न व्यक्ति फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।