यूएई भिसाका लागि प्रहरी रिपोर्ट प्रमाणीकरणमा १३ हजार रूपैयाँभन्दा बढी शुल्क
काठमाडौं, २ पुस — वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकहरूले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि १३ हजार ९ सय रूपैयाँभन्दा बढी शुल्क तिर्नुपर्ने भएको छ। यूएईले भिसा प्रक्रिया सहज बनाउन अनिवार्य गरेको प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि ३ सय ५३ दिराम (करिब १३ हजार ९९५ रूपैयाँ) तोकेको हो।
जेनजी आन्दोलनपछि भिसामा कडाइ भएपछि प्रहरी रिपोर्ट प्रमाणीकरण अनिवार्य गरिएको थियो। यसका लागि ठमेलस्थित भीएफएस सेन्टरमा शुल्क बुझाउनुपर्नेछ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रमिकमाथि अतिरिक्त आर्थिक भार पर्ने भएकाले शुल्क हटाउन माग गरेको छ। संघको ध्यानाकर्षणपछि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर कुटनीतिक पहल सुरु गरेको छ। संघले यसबारे यूएई दूतावाससँग पनि छलफल गर्ने जनाएको छ।
यसअघि वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमको शुल्क समेत बढिसकेको छ, जसले श्रमिकमाथि थप आर्थिक भार परेको व्यवसायीहरूले बताएका छन्।