प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षण गर्न ३१ संस्थालाई आयोगको अनुमति
काठमाडौं, २९ मंसिर
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति दिएको छ। अनुमति पाउने संस्थामध्ये २७ वटा राष्ट्रिय र चार वटा अन्तर्राष्ट्रिय संस्थाहरू रहेका छन्।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट गत ११ कात्तिकमा निवेदन आह्वान गरिएको थियो। सो आह्वानअनुसार ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ।
निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका मापदण्ड, आधार र प्रक्रिया पूरा गरेका संस्थालाई मात्र निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार निर्देशिकाबमोजिम आवश्यक कागजात पेस नगरेका संस्थाहरूलाई पाँच दिनभित्र थप कागजात बुझाउन पत्राचार गरिएको छ। मागबमोजिमका कागजात प्राप्त भएपछि ती संस्थाहरूका सम्बन्धमा आवश्यक निर्णय लिइने आयोगले स्पष्ट पारेको छ।