एमाले ईश्वर पोखरेल समूहद्वारा तत्काल मतदान सुरु गर्न माग
काठमाडौँ,नेकपा एमालेको ईश्वर पोखरेल समूहले निर्वाचन प्रक्रियामा भइरहेको ढिलाइप्रति आपत्ति जनाउँदै तत्काल मतदान सुरु गर्न माग गरेको छ।
मतदान प्रक्रिया तोकिएको समयमै सुरु नभएकाले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराइएको नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। उनका अनुसार मतदान ढिलाइ हुँदा निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।
ईश्वर पोखरेल समूहले मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको आरोपसमेत लगाएको छ। दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि लामो समयसम्म प्रक्रिया अघि नबढ्दा आफूहरू तत्काल मतदान सुरु गर्न दबाब बढाइरहेको पोखरेल पक्षको भनाइ छ।
निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै समूहले ढिलाइको स्पष्ट कारण सार्वजनिक गर्न पनि माग गरेको छ।