एमाले अध्यक्ष उम्मेदवारी दर्ता शुल्क १५ हजार, आज उम्मेदवारी दर्ता
काठमाडौं, २९ मंसिर — नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत अध्यक्ष पदका उम्मेदवारका लागि १५ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ। मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ।
निर्वाचन प्रक्रिया सुरु भएसँगै एमालेले उम्मेदवारी शुल्क निर्धारण गरेको हो। पार्टीका पदाधिकारी पदका लागि १० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलबीच प्रतिस्पर्धा हुँदैछ। दुवै नेताले उपाध्यक्ष, उपमहासचिव र सचिव पदका उम्मेदवारसहित पूर्ण प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारी रहने व्यवस्था गरेको छ र सबै पदाधिकारी पदमा निर्वाचन हुने निश्चित भएको छ।
मतदान पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ।