नेपाली कांग्रेसद्वारा उपाध्यायको निधनप्रति शोक प्रस्ताव, तीन दिन झण्डा आधा झुकाइने
काठमाडौँ— नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ।
क्यान्सर रोगको उपचारका क्रममा काठमाडौँस्थित ह्याम्स अस्पतालमा मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा उपाध्यायको निधन भएको थियो। बैठकले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
यसैगरी, बैठकले पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म सबै कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा उहाँको गृह जिल्ला मोरङमा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ। उपाध्यायको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टीले जनाएको छ।
उपाध्याय विसं २०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए। विसं २०५६ मङ्सिर २३ गते सम्पन्न उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी सोही वर्ष शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए। विसं २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनपछि पुनःस्थापित व्यवस्थापिका संसद्का सदस्यसमेत रहेका उपाध्याय विसं २०६४ को संविधानसभा निर्वाचनमा पनि मोरङ–१ बाट निर्वाचित भएका थिए।
शालीन र बौद्धिक व्यक्तित्वका रूपमा परिचित उपाध्यायले विसं २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए। राजनीतिक सङ्घर्षका क्रममा पटक–पटक जेल जीवन र निर्वासनसमेत भोगेका उपाध्याय समाजसेवा र अध्ययनमा विशेष रुचि राख्थे। उनका लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।
पार्टीको विभिन्न जिम्मेवारीमा रहेर कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्व गुमाएको नेपाली कांग्रेसले जनाएको छ।