निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्छ : हर्कराज राई
खोटाङ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन्। गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेको र आगामी सरकारको नेतृत्व आफूले गर्ने जिकिर गरे।
धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका अध्यक्ष राईले स्पष्ट दृष्टिकोण र श्रमप्रति सम्मान राख्ने नेताबाट मात्र देशको विकास सम्भव हुने बताए। उनले आफूहरू देश विकासका ठोस खाकासहित जनतामाझ गएको उल्लेख गरे।
“नेताहरूले पटक–पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट माग्छन्, तर समस्या समाधान हुँदैन,” उनले भने, “एउटै योजनामा पटक–पटक बजेट हाल्दा पनि योजना सम्पन्न हुँदैन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम र श्रमप्रेमी नेतालाई भोट दिन आवश्यक छ।”
अध्यक्ष राईले अब भाषणभन्दा काम र श्रम गर्नेलाई अवसर दिनुपर्ने धारणा राख्दै त्यसका लागि सबै श्रमजीवी वर्ग एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्वउपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङलगायत विभिन्न दल परित्याग गरेका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।
यसैबीच, पार्टीको खोटाङ जिल्ला कार्यसमिति गठन गरिएको जानकारी दिइयो। प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो। समितिको उपाध्यक्षमा उमा चाम्लिङ, सङ्गीता किराती र राजेन्द्र राई, सचिवमा धनीराम नछुङ, सहसचिवमा भविराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई तथा प्रवक्तामा राजन राई रहेका छन्।