रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी रिटको सुनुवाइ स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतमा पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको छ।
युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिटमा आज सुनुवाइका लागि पेसी तोकिएको थियो। महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरीत रहेको दाबी गर्दै रिट दायर गरिएको हो।
महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। त्यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले पनि सोही निर्णय गरेका थिए।
रिटमा अमेरिकी नागरिकता हुँदाहुँदै नेपाली नागरिक हुँ भनी राहदानी लिएको कार्य राहदानी ऐन, २०२४ विपरीत भएको जिकिर गरिएको छ। साथै, महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकार नाघेर आपराधिक मनसाय नरहेको निष्कर्ष निकालेको दाबीसमेत गरिएको छ।