माछा मार्न गएका युवक खोलामा मृत फेला
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन्। बारपाक सुलिकोट गाउँपालिका–५ ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको साठीमुरे क्षेत्रमा पर्ने लाङ्दी खोलामा आज दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको हो।
प्रहरीका अनुसार बराम माछा मार्न खोलातर्फ गएका थिए। प्रारम्भिक अनुसन्धानबाट उनको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।