जंगी अड्डाद्वारा ६ उपरथीको सरुवा, तीन पृतनामा नयाँ पृतनापति
काठमाडौँ । जंगी अड्डाले नेपाली सेनाका ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली सेनाको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले तीनजना पृतनापतिसहित ६ उपरथीको सरुवा स्वीकृत गरेको हो।
सरुवाअनुसार पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौँडामा नयाँ पृतनापति नियुक्त भएका छन्।
पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्कीलाई सैनिक मुख्यालय जंगी अड्डा सरुवा गरिएको छ। कार्कीले यसअघि १६ र १८ नम्बर बाहिनीको कमाण्ड गर्नुका साथै प्रधानसेनापतिको सचिवालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा समेत कार्य गरिसकेका छन्। उनको स्थानमा पश्चिम पृतना पोखराको जिम्मेवारी उपरथी भोलानाथ थापालाई दिइएको छ, जो यसअघि निरीक्षणाधिकृत जंगी अड्डामा कार्यरत थिए।
मध्य पृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठकलाई प्रवन्ध रथी विभाग, जंगी अड्डा सरुवा गरिएको छ। पाठकले युनिट कमाण्ड, अनुसन्धान तथा विकास निर्देशनालय, ४ नम्बर बाहिनी, आपूर्ति तथा यातायात निर्देशनालय तथा साइबर सुरक्षा निर्देशनालयमा निर्देशकका रूपमा काम गरिसकेका छन्। उनको स्थानमा उपरथी विष्णुकुमार खड्कालाई मध्य पृतनाको जिम्मेवारी दिइएको छ। खड्का यसअघि जंगी अड्डाको अतिरिक्त समूहमा थिए।
मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुनलाई पनि जंगी अड्डा सरुवा गरिएको छ। त्यहाँ उपरथी हिम्मतबहादुर विष्टलाई पठाइएको छ। विष्ट यसअघि स्टाफ कलेज शिवपुरीमा कार्यरत थिए।
नेपाली सेनाका आठ पृतनामध्ये बाँकी पाँच पृतनाका पृतनापति यथावत् रहेका छन्। सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी, उत्तरपश्चिम पृतनामा दीपेशजंग शाह, मध्यपूर्व पृतनामा कृष्णबहादुर जीसी, पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी र उपत्यका पृतनामा रवीन्द्र खत्री कार्यरत छन्।