जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु
जिल्लाका विभिन्न अस्पतालमा उपचाररत जापानिज इन्सेफ्लाइट्स (JE) सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। गत साउनयता उपचारका लागि आएका १७ जनामध्ये यो मृत्यु भएको हो।
जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन्। उनीहरूको उमेर ३९ देखि ८९ वर्षसम्म रहेको छ।
सङ्क्रमितमध्ये १० जना महिला र सात जना पुरुष छन्। तीमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५–६० वर्ष उमेरका र नौ जना ६० वर्षमाथिका रहेका छन्। सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनामा खोप अवस्थाबारे स्पष्ट नभएको जनाइएको छ।
जापानिज इन्सेफ्लाइट्स क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। यो लामखुट्टे घरबाहिर बस्न रुचाउने र साँझ–बिहान बढी सक्रिय हुने बताइएको छ। यसले सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई पनि टोक्दा मानिसमा सर्न सक्छ। साथै, धानखेतीमा लामखुट्टेले अण्डा पारेर लार्भा उत्पादन गर्ने भएकाले सावधानी अपनाउन स्वास्थ्य कार्यालयले सचेत गराएको छ।