कांग्रेसका वरिष्ठ नेता आमोद प्रसाद उपाध्यायको निधन
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ। मोरङको विराटनगर निवासी उपाध्यायको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उपाध्याय २०५१ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए भने २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए र पुनर्स्थापित व्यवस्थापिका–संसदमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए।
राजनीतिक संघर्षका क्रममा उपाध्याय पटक–पटक पक्राउ परेर जेल जीवन बिताउन बाध्य भएका थिए। साथै उनले राजनीतिक कारणले निर्वासनमा समेत जीवन बिताएको बताइन्छ।
नेपाली कांग्रेसका एक अनुभवी र संघर्षशील नेताको रूपमा चिनिएका उपाध्यायको निधनप्रति पार्टी वृत्तमा शोक व्यक्त गरिएको छ।