‘काँडेतार’को विशेष प्रदर्शनमा गायिका सत्यकला राई सम्मानित
गायिका सत्यकला राई अमेरिकामा सम्मानित भएकी छन् । ग्लोबल पिपुल एलायन्सद्धारा आयोजित एक विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो । राईलाई नेपाली गीतसंगीतमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाले ‘शान्ति दूत’को रूपमा सम्मान गरेको हो ।
कल्याण फाउन्डेशनको सह–आयोजना रहेको कार्यक्रममा राईद्वारा निर्मित फिल्म ‘काँडेतार’को विशेष प्रदर्शन समेत गरिएको थियो । प्रिमिएर सहभागी अधिकांशले फिल्मले राष्ट्रियताको वकालत गरेको भन्दै सबैले हेर्न र सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा ग्लोबल पिपुल एलायन्सका संस्थापक वैज्ञानिक डा. प्रदीप बास्तोला, अध्यक्ष काशी अधिकारीलगायत अमेरिका निवासी थुप्रै नेपालीको सहभागिता थियो । राई बेलायत र क्यानडापछि ‘काँडेतार’ लिएर अमेरिका पुगेकी हुन् । अमेरिकामा फिल्मको एक दर्जन बढी शो हुनेछ ।
नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ले नेपाल–भारतबिचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनुपर्ने विषय कथाको रूपमा उठाएको छ । सत्यकला राईको कार्यकारी निर्माण रहेको फिल्ममा निर्देशक नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ लगायतको मुख्य भूमिका छ ।