सिन्धुपाल्चोकमा भन्सार प्रज्ञापनपत्रविनै चिनियाँ सामानसहित एकजना नियन्त्रणमा
काठमाडौँ ।सशस्त्र प्रहरी बलले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रविनै चिनियाँ किराना सामानसहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायब महानिरीक्षक मनिष थापाका अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ बाट शिवलाल तामाङ्गलाई नियन्त्रणमा लिइएको हो। तामाङ्ग सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ का स्थायी बासिन्दा हुन्।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको फौजले तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडीमा राखी ल्याइरहेको सामानको बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभेटिएपछि चालक तामाङ्गलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको सामानमा स्टेशनरी, खेलकुद सामग्री र किराना सामान रहेका छन्। बरामद सामानको अनुमानित मूल्य ७ लाख २२ हजार १० रुपैयाँ रहेको छ भने गाडीको मूल्य १५ लाख रुपैयाँ पुगेर कुल मूल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ।
सशस्त्र प्रहरी बलले तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने तयारी गरेको छ।