युके पठाउने भन्दै ५२ लाख ठगी आरोपमा एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बराइलीले रोजगारीका लागि युके लैजाने प्रलोभन देखाई एक जना पीडितबाट ५२ लाख रुपैयाँ लिई लामो समयसम्म झुक्क्याएर सम्पर्कविहीन भएका थिए। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगी बढ्दो रहेकाले सचेत रहन सबैलाई आग्रह गरेको छ।