सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवन उद्घाटन
सिरहा । सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र नवनिर्मित दुई तले ब्यारेक भवनको आज उद्घाटन गरिएको छ।
सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले एक औपचारिक समारोहबीच उक्त भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले शान्ति र सुरक्षाप्रतिको जिम्मेवारी आत्मसात् गर्दै राज्यको निर्देशन अक्षरशः पालन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए। उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि कडाइका साथ निगरानी बढाउन तथा नागरिकको जिउधनको रक्षा गर्न दिनरात क्रियाशील रहनुपर्नेमा जोड दिए।
वर्तमान सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गर्दै ढकालले जेन–जी आन्दोलनपछिको अवस्थामा सुरक्षाकर्मीको जिम्मेवारी थपिएको बताए। उनले शान्ति सुरक्षा कायम गर्दै आगामी निर्वाचनको तयारीमा समेत जुट्न निर्देशन दिए।
सीमा सुरक्षा मुख्य प्राथमिकता भएको उल्लेख गर्दै उनले अवैध आवतजावत, लागूऔषध, मानव तस्करी तथा चोरी तस्करी नियन्त्रणमा थप सक्रियता देखाउन आग्रह गरे।
‘राज्यका सबै सुरक्षा निकायले हातेमालो गरेर अघि बढ्नुपर्छ। जनताले तिरेको करबाट बनेका संरचनाको सदुपयोग गर्दै अझ जिम्मेवार भएर शान्ति सुरक्षा कायम गर्नुपर्छ,’ उनले भने।
सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार उक्त ब्यारेक भवन दुई चरणमा निर्माण गरिएको हो। पहिलो चरणमा ६१ लाख ७७ हजार रुपैयाँ र दोस्रो चरणमा ५४ लाख ६ हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो। नवनिर्मित भवन आवासीय प्रयोजनका लागि प्रयोग गरिनेछ।
यसै अवसरमा आजै नवराजपुर गाउँपालिका–४ नवराजपुरमा निर्माण गरिएको सशस्त्र प्रहरी बलको बिओपी कार्यालयको पनि उद्घाटन गरिएको छ। उक्त बिओपी कार्यालय ३९ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए।
कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले नवनिर्मित संरचनाहरू सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा हुने सुरक्षात्मक गतिविधि अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रममा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
भारतसँग जोडिएको सिरहाको ४६ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण अन्तर्गत दुई सीमा सुरक्षा गुल्म, पाँच बिओपी, पाँच सुरक्षा वेश र जिल्ला सदरमुकाम सुरक्षा वेश गरी जम्मा १३ वटा कार्यालय सञ्चालनमा रहेका छन्।