साम्पाङद्वारा रोजगारी सिर्जना र उत्पादन बढाउने अभियानको घोषणा
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले रोजगारी सिर्जना गफले मात्र नहुने भन्दै उत्पादन र निर्माणमार्फत मात्र आर्थिक रूपान्तरण सम्भव हुने बताएका छन्।
आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै साम्पाङले दलले उत्पादन, निर्माण, सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणमा फिल्डमा खटेर काम गर्ने योजना रहेको बताए। उनले प्रायः नेपाली बेरोजगार हुने मुख्य कारण उत्पादन बढाउन नसक्नु भएको बताए।
साम्पाङले विदेशी ऋणमा मात्र देश नचल्ने भन्दै अब देश आफैंले निर्माण गर्नुपर्नेमा जोड दिए। उनले गरिबी, अभाव, ठगी, भ्रष्टाचार र बेइमानी अन्त्य गर्न आफूहरूको पार्टी सक्रिय रूपमा काम गर्ने बताए।
उनले भने, “जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म, त्यो काम गर्ने हो। उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं। अफिसमा बसेर भाषणमा सीमित हुँदैनौँ। हाम्रो मौलिक शैलीले अब देश आफैंले निर्माण गर्नुपर्ने कुरा देखाउँछ।”
साम्पाङले दलको झण्डा नराख्ने भए पनि पार्टीको चुनाव चिन्ह माटोको ढिस्को रहने जानकारी दिएका छन्। उनले पार्टी परम्परागत राजनीतिक दलजस्तो नहुने र हरेक टोलमा श्रमदाता बनाउन सक्रिय हुने पनि बताए।
निर्वाचन आयोगले आइतबार साम्पाङको पार्टीलाई मान्यता दिएको हो र उनले आजै आयोगबाट प्रमाणपत्र समेत प्राप्त गरेका छन्।