कर्फ्युपछि सिमराको अवस्था सामान्य बन्दै
स्थानीय प्रशासनले जीतपुर सिमरा क्षेत्रमा कर्फ्यु जारी गरेपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय बाराले साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
बाराको परवानीपुरमा आयोजना गरिएको युवा जागरण कार्यक्रममा सहभागी हुन एमाले नेता महेश बस्नेतलगायत आउने जानकारीपछि बाराका जेनजी युवाहरूले सिमरा चोकमा विरोध कार्यक्रम आयोजना गरेका थिए। त्यसपछि सो समूहले सिमरा विमानस्थल घेराउ गर्दा झडपको अवस्था सिर्जना भई प्रशासनले कर्फ्यु जारी गर्नुपरेको हो।
कर्फ्युपछि जीतपुर सिमराका शैक्षिक संस्था, वित्तीय संस्था तथा यातायात क्षेत्र आकस्मिक रूपमा बन्द भएका छन्। यता, जेनजी युवाहरूले सिमरा चोकमा शान्तिपूर्ण रूपमा टायर दहन गरी विरोध जारी राखेका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी धमेनन्द्र कुमार मिश्रले अवस्था सामान्यतर्फ उन्मुख भइरहेको बताए। उनले आन्दोलनको नेतृत्व गर्नेविरुद्ध जाहेरी दर्ता भए कारबाही अघि बढाउने तयारी भएको पनि जानकारी दिए।
जीतपुर सिमरा उपमहानगर पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज औद्योगिक करिडोरसँग जोडिएको महत्वपूर्ण स्थान हो। आकस्मिक रूपमा कर्फ्यु जारी भएपछि राजमार्ग र औद्योगिक करिडोर क्षेत्रमा सवारी साधन रोकिँदा सयौँ यात्रुहरू अलपत्र परेको प्रशासनले जनाएको छ।
आज बिहानैदेखि सिमरा चोकमा विरोध गरिरहेका युवाहरूले विमानस्थलसम्म घेराउ गरेका थिए। विमानस्थल घेराउ गर्ने क्रममा प्रहरी र जेनजी युवाबीच झडपको स्थिति उत्पन्न भएपछि प्रहरीले २ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरीले जनाएको छ।