स्थानीयलाई बेवास्ता गर्दै, मर्स्याङ्दी बेसि जलविद्युत् आयोजना सुरु
लमजुङ ।
लमजुङको सदरमुकाम बेशिसहर नजिकै ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसि जलविद्युत आयोजनाको निर्माण कार्य अचानक र गोप्य रूपमा सुरु भएपछि स्थानीय बासिन्दाहरूले कडा विरोध जनाएका छन्। बेशिसहर नगरपालिका-६ बेलौती बिसौनीदेखि बेसिसहर-१० सालडाडासम्म फैलिएको यो आयोजना एशियन पावर पार्टनर्स प्रालि (APP) ले निर्माण गर्ने भएको छ । स्थानीय निकाय र सरोकारवालाहरूले कुनै आवाज नउठाएकै कारण कम्पनीले १८ वर्ष पुरानो यो स्वीकृत योजनालाई स्थानीयलाई बेखबर राखेर अघि बढाएको उनीहरूको आरोप छ।
वातावरणीय सन्तुलनमाथि गम्भीर खतरा
स्थानीय समुदायको मुख्य चिन्ता वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रक्रियाको अपारदर्शितामाथि छ। उनीहरूका अनुसार, सार्वजनिक सुनुवाइ लगायतका कानुनी प्रक्रिया पारदर्शी रूपमा पूरा नगरी आयोजना अघि बढाइएको छ।
पहिलनै संचालनमा आएका सञ्चालित मध्य मर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाका कारण नदीलाई सुरुङ्भित्र हाल्दा नदि बग्ने ठाउँ मरुभूमि जस्तो बनेको तितो अनुभव स्मरण गर्दै स्थानीयहरूले अहिले बीचमा अर्को आयोजना थपिँदा मर्स्याङ्दी नदीको पारिस्थितिक प्रणालीमा गम्भीर र अपूरणीय क्षति पुग्ने आशंका व्यक्त गरेका छन्। नदीमा पानी बग्ने ठाउमा सुरुङ्ग मार्फत पानी कटान हुँदा बेसिसहर नगरपालिकाको ड्याम्पिङ्ग साइडको फोहोर नबग्ने, दुर्गन्ध फैलिने र नदी किनारको जैविक जीवन पूर्ण रूपमा नष्ट हुने उनीहरूको भनाइ छ।
सदरमुकाम बेशिसहरको भविष्यमाथि प्रश्न
यो आयोजनाले बेशिसहर सदरमुकामको ठूलो भागलाई प्रत्यक्ष असर पार्ने भएकाले स्थानीय बासिन्दा अत्यन्तै चिन्तित छन्। सुरुङ खन्ने र निर्माण सामग्री ढुवानीका कारण बजार क्षेत्रमा असरहरु देखा पर्नेछन ।
बेसिसहर बजारमा कम्पन र आवाज प्रदूषण, धुलो र वायु प्रदूषण, फोहोर व्यवस्थापनको समस्या बढ्दै जाने छ । नदीको 'ड्याम्पिङ साइट' सदरमुकाम नजिकै पर्ने भएकाले आयोजनाले बेशिसहरको सौन्दर्य र जनजीवनमाथि गम्भीर नकारात्मक असर पार्ने स्थानीयको ठहर छ।
'Save the Marsyangdi' अभियानको थालनी र कडा चेतावनी
बेशिसहरका युवाहरूले यो विरोधलाई संगठित गर्दै सामाजिक सञ्जालमा "Save the Marsyangdi, Save the Nature" नामक सशक्त अभियान सुरु गरेका छन्। उनीहरूले कम्पनी र सरकारी निकाय दुवैलाई तत्काल परियोजनाको काम रोक्न माग गर्दै अभियानलाई सशक्त बनाउदै बिरोध गरेका छन ।
स्थानीयहरूले EIA प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न र बेशिसहरको सौन्दर्य तथा वातावरणलाई असर नपर्ने गरी आयोजना पुनः डिजाइन गर्न माग गरेका छन्।
उनीहरूले चेतावनी दिएका छन् कि यदि कम्पनीले स्थानीय सरोकार र वातावरणीय मापदण्डलाई बेवास्ता गरी निर्माण कार्य अघि बढायो भने कडा सडक आन्दोलन गर्ने र जुनसुकै मूल्यमा परियोजना रोक्नेछन्। युवाहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थानीय समुदायसँग ‘अग्रिम जानकारी सहितको मञ्जुरी’ लिनुपर्ने पनि जोड दिएका छन्।
सरकारको ध्यानाकर्षण
स्थानीयवासीले विकासको नाममा वातावरणीय विनाश स्वीकार्य नहुने भन्दै नेपाल सरकारको ऊर्जा विकास विभाग र वातावरण मन्त्रालयलाई यस्तो महत्त्वपूर्ण आयोजनाको स्वीकृति प्रक्रियामा पारदर्शिता देखाउन माग गरेका छ्न । स्थानियहरुले जलविद्युत् विकासले स्थानीय सरोकार र वातावरणीय सन्तुलनलाई बेवास्ता गरेमा त्यसले दीर्घकालीन रूपमा राष्ट्रलाई नै क्षति पुर्याने बताय।