नवनियुक्त आईजीपी कार्कीले प्रहरी सहचारी र रासन वृद्धिको माग उठाए
काठमाडौं, २७ कात्तिक — नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्नुपर्ने र नेपाल प्रहरीको रासन वृद्धिको विषय उठाएका छन्। बिहीबार गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण कार्यक्रममा २० मिनेट सम्बोधन गर्दै उनले यी प्रस्तावलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नेमा अपेक्षा व्यक्त गरे।
कार्कीले भने, “राज्यको आर्थिक विकासमा ठूलो योगदान गर्ने नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिमा जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी आवश्यक छ।” उनले खाडी मुलुक, अमेरिका, चीन र युरोपमा प्रहरी सहचारी राख्ने माग लामो समयदेखि रहेको तर अहिलेसम्म कार्यान्वयन नहुँदाको कुरा बताए। हाल भारतमा मात्र एक जना एसएसपी स्तरको प्रहरी सहचारी खटिएको छ।
त्यसैगरी आईजीपी कार्कीले नेपाल प्रहरीको रासन अन्य सुरक्षा निकायसँग असमान रहेको भन्दै दैनिक कार्य सम्पादनका लागि पर्याप्त रासन प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले निकट भविष्यमा हुन लागेको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी पूर्ण रूपमा तत्पर रहेको जानकारी पनि दिए।