हरिबोधिनी एकादशी आज : तुलसी–दामोदर विवाह र विष्णु आराधनामा भक्तजनको भीड
काठमाडौँ । आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी एकादशी देशभर श्रद्धा र भक्ति साथ मनाइँदैछ । भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजाअर्चना गर्ने परम्परा यस दिन रहेको छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ र विष्णु भक्तका लागि अत्यन्त पवित्र दिन मानिन्छ ।
एकादशीको अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने, सत्यनारायण पूजा गर्ने, महादीप बाल्ने र आजका दिन डोरीमा बेल, पीपल, सयपत्री लगायत फूल उनेर त्यसलाई डोलीमा राखी नदी तार्ने परम्परा छ।
जनविश्वास अनुसार यस दिन फूलको डोली नदी तार्दा पाप नष्ट हुने र मृत्युपश्चात वैतरणी तर्ने पुण्य प्राप्ति हुने मानिन्छ।
एकादशी पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको विशेष भीड रहेको छ भने बागमती नदीमा फूल तार्ने परम्परागत दृश्यले वातावरण आस्थामय बनेको छ।